प्रधानमन्त्रीको सचिवालयले भन्यो-कानुनसम्मत नियुक्तिलाई अन्यथा व्याख्या नगरियोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयलाई अनावश्यक रुपमा जोडिएको बताएको छ ।

सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सचिवालयले कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ । ‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ ।’

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव, नातेदार कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिव नियुक्ति दिलाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *