प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको स्वार्थका कारण परिवर्तनको लागि बगेको रगतको अपमान भएको छः रक्षा बम

काठमाडौं । जेनजी नेतृ रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकी छन् । जेनजी विद्रोह रकमको भ्रष्टाचार विरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरूद्ध पनि रहेको भन्दै श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकी हुन् ।

उनले भनेकी छन्, ‘जेनजी विद्रोह रकमको भ्रष्टाचारविरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं।तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ।’

उनले श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गर्न माग गरेकी छन् । उनले भनेकी छन्, ‘भदौ २३ मा ’पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नु हुँदैन । सरकार बेलैमा सचेत होओस्।’

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव, नातेदार कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिव नियुक्ति दिलाएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *