एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा म्याड्रिड १० खेलाडीमा समेटिएको इल्चेसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
इस्टाडियो मानुयल मार्टिनज भालेरोमा भएको खेलमा म्याड्रिडको लागि डीन हुज्सेन र जुड बेल्लिन्घामले समान एक/एक गोल गर्दा इल्चेको लागि अल्भारो रोद्रिगेज र एलेक्सिस फेबासले समान एक/एक गोल गरे । खेलको ५३ औँ मिनेटमा फेबासले गोल गर्दै इल्चेलाई शुरूवाती अग्रता दिलाएका थिए ।
७८ औँ मिनेटमा हुज्सेनले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ८४ औँ मिनेटमा रोद्रिगेजले गोल गर्दै घरेलु टोलीलाई फेरी २-१ गोलको अग्रता दिलाए । तीन मिनेटपछि बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । इन्जुरी समयको छैटौँ मिनेटमा भिक्टर चुस्टले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो । बराबरीका बाबजुत म्याड्रिड १३ खेलबाट ३२ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ भने समान खेल खेल्दै १६ अंक जोडेको इल्चे ११ औँ स्थानमा रहेको छ ।
