एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा आज दूई खेल हुँदैछ । आज हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ११:४५ बजे शुरू हुनेछ ।

दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । विराटनगर आज आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने जनकपुर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले यसअघि भएको दुवै खेलमा जित हात पारेको थियो । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगिताको शुरूवात गरेको विराटनगरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेटले पाखा लगाएको थियो ।

यता जनकपुर भने उद्धाटन खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । हाल विराटनगर दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको जनकपुर सातौँ स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन् । खेल टियु मैदानमै ४ बजे शुरू हुनेछ । साविक उपविजेता कर्णाली आज लगातार तेस्रो जितको खोजीमा हुनेछ भने कर्णाली दोस्रो जित निकाल्न चाहन्छ ।

सुदूरपश्चिम पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै चार अंकको साथ शीर्ष स्थानमा रहेको छ भने कर्णाली समान खेलबाट दुई अंकको साथ छैटौँ स्थानमा रहेको छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा लुम्बिनी लायन्समाथि ९ विकेटको जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *