जनकपुर । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आइतबार चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत राम मन्दिरको प्राङ्गणमा शनिबार तिलकोत्सव विधि सम्पन्न भएको हो ।
जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भार लिएर राम मन्दिर पुगेका थिए।
तिलकोत्सवमा उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एकअर्कालाई अङ्कमाल गरेर सम्धी मिलन गरे। उत्तराधिकारी महन्थ दासले दुलहा पक्षका महन्थ गिरीलाई भार हस्तान्तरण गरे।
अब सोमबार मटकोर विधि, मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभविवाहको कार्यक्रम हुनेछ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।


