काठमाडौं । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनायो ।
दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ टोलीको सहभागिता रहेको थियो ।
