-डा. कुमार आचार्य
भाद्र २३ र २४ मा के भयो ? किन भयो ? यसको जिम्मेवारी कसको ? यसमा बहस गरेर वा एकअर्कालाई आरोप प्रत्यारोप गरेर समाधान निस्कन्न । जेनजीको बिरोधले तत्कालीन सरकार र दलहरूप्रति गुमेको विश्वास फिर्ता हुँदैन । दुष्कर्म गर्नेलाई समयले ढिलोचाँडो कठघरामा उभ्याउने निश्चित छ । राज्य बलियो र विश्वसनीय भएका बखत कुकर्मीको हिसाब हुन्छ ।
सिद्धान्ततः सुरक्षाको वातावरण बनाउने मुख्य जिम्मेवारी सरकारको हो । देशमा लामो समयसम्म सत्ता चलाएका दलको प्रभाव सबै सरकारी निकायमा जरो गाडेर बसेको छ । व्यवहारमा राजनीतिक दलले सुरक्षाको वातावरण बनाउनु पर्छ। जेनजीलाई गाली गरेर वा सत्तोसराप गरेर कुनैपनि नेता वा दलको उचाई बढ्दैन । समाधान निस्कदैन। को हुन् जेनजी ? हरेक घरमा छन् जेनजी सोंचका युवा ! अनि बिरोध कसको ? जेनजी आन्दोलन सर्वसत्तावाद, कुशासन, भ्रष्टाचार, नातावाद, दलीयकरण र अवसरको अनुपस्थितिको सहउत्पादन थियो। विस्फोट भयो, सकियो । त्यसका सकारात्मक र नकारात्मक प्रभाव सतहमा देखिए । देखिन्छन् ।
जे रोप्छौं त्यही फल्छ । विगतमा नेताहरूले एक–अर्काबिरूद्ध ओकलेको जहर युट्युवमा छरपस्ट छन् । त्यही विषवृक्षको फलको प्रभाव नेतामा देखिंदैछ। आफ्नो कर्मको फल भोग्नैपर्छ । चुनाव भए सरकार बनाउने दलले नै हो । त्यसैले दलले आफ्नो लोकप्रियतालाई बढाउने कार्यक्रम ल्याउनुपर्छ। जसको घोषणापत्र र प्रतिवद्धता मतदाताले पत्याउँछन् त्यसैले जित्छ । आफ्नो लोकप्रियता अरूको आलोचना गरेर बढ्दैन । परिस्थिति बदलियो नेताले मनस्थिति पनि बदल्नु पर्छ।
अब सुरक्षित निकासको वातावरण बनाउने तर्फ हामी केन्द्रित हुनुपर्छ। आफ्नो दल नभएको र चुनावमा उम्मेदवार पनि नहुने आन्दोलनको जगमा स्थापित गैरदलिय नागरिक सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य हो। यो सरकारप्रति विश्वास बढाए निर्वाचनको माध्यमबाट राजनीतिक निकास सहज हुन्छ । दलले घृणा, अपमान, दम्भ र निषेधको राजनीति गर्न नछोडे महासंकट निकट छ ।
