विचारको स्वतन्त्रता, सहिष्णुता र लोकतान्त्रिक परिपक्कता

-जेपी गुप्ता

प्रजातन्त्र कुनै बनिबनाउ राजनीतिक व्यवस्था भन्दापनि मुलुकहरूका चरित्रका अनुसार व्यवहारबाट बन्दै जाने पद्धति हो । बेलायतको प्रजातन्त्रका बारेमा ठठ्यौलीमा भनिन्छ–त्यहाँ मात्तिएर हिँडेका कोही अर्का भद्रलाई धकेल्दै अगाडी बढ्दा उल्टै धकेल्याईमै परेकाले ‘सरी’ भनेर छेउ लाग्छ रे ! यता अमेरिकाको ताततातैको एक प्रसंग पढौं । भर्खरै न्यूयोर्क शहरका मेयर–इलेक्ट जोहरान ममदानीले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई भेटेका छन् । धेरैले यस भेटलाई अचम्मको र अप्रत्याशित देखिरहेका छन्, किनकी ममदानी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच राजनीतिक रुपमा निकै भिन्नता छ। एकले अर्काको कटु आलोचनाहरू गरेका कैयन उदाहरणहरू छन् । तर, उनीहरूबीच ह्वाइट हाउस (ओभल अफिस) मा भएको भेटमा केही रोमाञ्चक क्षणहरू पनि आएका छन्, विशेष गरी ‘फासिष्ट’ भन्ने प्रश्नलाई लिएर ।
यस भेटका क्रममा त्यहाँ उपस्थित एक पत्रकारले ट्रम्पकै छेउमा उभिएका ममदानीलाई सोध्दछन्ः “के तिमी अझै ट्रम्पलाई फासिष्ट मान्छौ ?’

ममदानीले केही बोल्नु अगावै ट्रम्प बीचमै हस्तक्षेप गर्दै ममदानीलाई भन्छन्ः ‘ठीक छ, तिमी ‘हो’ भन्न सक्छौ । यसलाई व्याख्या गर्ने भन्दा ‘हो’ भन्नु नै सजिलो छ। मलाई बिउँझाउँदैन।’ ममदानी भन्छन्ः ‘ओके … हो।’ अर्थात् राष्ट्रपति ट्रम्प फासिष्ट हुन् । आफूले फासिष्ट भनेको ठिकै हो, यस आशयमा ममदानीले पुष्टि गरे।
ट्रम्पले नै हास्यपूर्वक ‘हो भनेर मान’ भनेर यस गम्भीर विषयलाई हल्का बनाइदिए । र, दुबैले सहमति जनाए कि न्यूयोर्कलाई आर्थिक रूपमा सुदृढ बनाउनु दुबैको साझा लक्ष्य हो ।

यस संवादले अमेरिकी प्रजातन्त्रको एउटा महत्वपूर्ण पक्ष देखाउँछ—कटु आलोचना र राजनीतिक असहमतिको बाबजुद पनि संवाद गर्न सक्ने क्षमता । ट्रम्पले आफैँसँग जोडिएको कडा शब्दलाई पनि सहजतापूर्वक लिनु र ममदानीले खुला रूपमा आफ्नो धारणा स्वीकार गर्नुले विचारको स्वतन्त्रता, सहिष्णुता र लोकतान्त्रिक परिपक्कता दुबै झल्काउँछ । असहमति शत्रुता होइन—संवादको बाटो बन्न सक्छ भन्ने उदाहरण पनि हो । कठै हाम्रो प्रजातन्त्र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *