सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तालिम

फुङ्लिङ (ताप्लेजुङ) । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकका लागि तालिम आयोजना गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको सहकार्यमा विद्यालय तहअनुसारका पाठ्यक्रममा आधारित विषयगत सिकाइलाई सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

शुक्रबारदेखि सुरु भएको तालिम आइतबारसम्म जारी रहनेछ । पालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरू तालिममा सहभागी छन् । उनीहरूलाई तहअनुसार समूह विभाजन गरी व्यावसायिक क्षमता विकास, अध्यापन शैली, सिकाइ मूल्याङ्कन विधि र शैक्षिक नेतृत्वका विषयमा केन्द्रित प्रशिक्षण प्रदान भइरहेको छ ।

तालिममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसोसिएट डिन तथा एसोसिएट प्रोफेसर डा शिषकान्त पँगेनी, इपिसिई कोअर्डिनेटर सन्दीप ढुङ्गाना तथा अनुभवी फ्याकल्टी सदस्यहरू इन्द्रमणि दाहाल, राजेन्द्र दाहाल, ढुण्डिराज गिरी, मनिषा हाडा र मिरा शर्मा सहजीकरणमा संलग्न छन् ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार तालिमको मूल उद्देश्य शैक्षिक सुधारलाई व्यवहारमा उतार्नु हो । “अब हाम्रा शिक्षकहरूले ‘तालिम पाएका छैनौँ’ भन्ने अवस्था रहने छैन”, उनले भने, “सबैभन्दा महत्वपूर्ण पक्ष भनेको तालिममा सिकेको ज्ञान कक्षामा इमानदारीपूर्वक प्रयोग गर्नु हो । यहीँबाट गुणस्तरीय शिक्षाको आधार तयार हुन्छ ।”

अध्यक्ष वनेमले शिक्षामा रूपान्तरण ल्याउने गाउँपालिकाको अभियानअन्तर्गत राजनीतिक प्रतिबद्धता, संवैधानिक दायित्व, आवधिक विकास योजना, ४२ बुँदे शैक्षिक सुधार घोषणापत्र, १० वर्षे रणनीतिक योजना तथा विद्यार्थी–अभिभावकको निरन्तर सुझावमा आधारित रहेका जानकारी दिए ।

उनले शिक्षा क्षेत्रमा गरिएको लगानीको तत्क्षण प्रभाव नदेखिए पनि यसको दीर्घकालीन प्रभाव अत्यन्त सकारात्मक हुने विश्वास व्यक्त गरे । “आज गरिएको लगानीले भोलिको पुस्तालाई सक्षम बनाउँछ”, अध्यक्ष वनेमले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *