एनपीएलमा विराटनगरको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । विराटनगरको जितमा जोर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउँदा मार्टिन गुप्टिलले २५, नरेन भट्टले २४, बासिर अहमदले १९, लोकेश बमलले १४ तथा सन्दीप लामिछानेले नटआउट ९ र शुभम रान्जानेले नटआउट ६ रन बनाए ।

काठमाडौंको लागि शाहाब अलामले दुई विकेट लिँदा करण केसी, जेर्हाड इरास्मस र सन्तोष यादवले समान एक/एक विकेट हात पारे ।

यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । काठमाडौंको लागि मोहम्मद आदील अलामले सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा ४ चौका र  दुई छक्का हिर्काए । यस्तै बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र जेर्हाड इरास्मसले १० रनको योगदान गरे ।

विराटनगरको लागि मर्चान्ट डे लान्गेले ४ ओभरमा १७ रन दिएर दुई विकेट लिँदा शुभम रान्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

जितसँगै विराटनगर दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिदा एक खेल बढि खेलेको काठमाडौं दुई अंकको साथ तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *