काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् ।
कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्वपूर्ण माध्यम बनेको बताए ।
उनले भने, ‘नयाँ युवाहरूले खेलमार्फत आफ्नो परिचय दिने तथा क्षमता देखाउने प्रभावकारी मञ्चका रूपमा एनपिएललाई देख्छु । एनपिएलमा राम्रो गर्ने खेलाडी पक्कै पनि नेपालका लागि प्रतिनिधित्व गर्नेमा हुनेछन् ।’
कोच गौचनले ‘फ्लडलाइट’ नेपाली खेलाडीलाई विदेशमा गएर पनि सहज हुने बताए । उनले भने,’यसअघि नेपालमा फ्लडलाइट नहुँदा नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न समस्या हुने गरेको थियो । अब कीर्तिपुर रङ्गशालामा फ्लडलाइटमा खेलेर विदेशमा खेल्दा असहज हुने छैन ।’
यसैबीच जारी प्रतियोगितामा पहिलो शतक हिर्काउने कर्णाली याक्सका मार्क वाटले नेपाली दर्शकको मायाप्रति खुसी हुने बताए ।
उनले भने, ‘नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक छ । यति धेरै दर्शकमाझ पहिलो शतक बनाउनु विशेष क्षण बन्यो ।’ आज भएको पहिलो खेलमा लुम्बिनीमाथि कर्णालीले नौ विकेटको जित निकाल्यो ।
