काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा प्रचण्डले आसन्न चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटीहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको बताए । उनले नयाँ पुस्तालाई बढीभन्दा बढी जिम्मेवारी दिने र त्यसमा पुराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटीहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौं । छिट्टै त्यो निर्णय पनि गर्नेछौं ।’
उनले युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्ने बताए ।
उनले भने, ‘एक हजार जेनजी युवाहरुलाई पार्टीमा स्वागत गर्दैगर्दा हामीले देखेको सपना नेपालबाट सामन्ती उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपना बोकेर गरेका कामहरु स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महसुस गरेको छु । अब युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नुपर्छ ।’
जेनजी पुस्ताका युवाहरुले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीहरुलाई झकझकाउने र एउटा नयाँ चेतना तिर अगाडि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाई थियो ।
