राष्ट्रपति रनिङ शिल्डको उपाधि बराह माविलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बराह माध्यमिक विद्यालयले जितेको छ । माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा अवस्थित बराह मावि पहिलोपटक उपाधि चुम्न सफल भएको हो ।

यही मङ्सिर ३ गतेदेखि महेन्द्र माविको खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्डमा १० स्वर्ण, छ रजत र दुई कास्य जितेर बराहले उपाधि जितेको हो । च्याम्पियन बनेको बराह माविले रनिङ शिल्डसहित १५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका १० सामुदायिक र दुई संस्थागत विद्यालयको सहभागिता थियो ।

त्यसैगरी, छ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेर माछापुच्छ्रे मावि द्वितीय भयो । माछापुच्छ्रेले रु १० हजार र ट्रफी पुरस्कार प्राप्त गरेको छ । निष्पक्ष माविले चार स्वर्ण, दुई रजत र तीन कास्य पदकको साथमा तृतीय स्थान हासिल गर्दै ट्रफी र रु सात हजार ५०० पुरस्कार पायो ।

प्रतियोगिताको विजेता विद्यालय तथा खेलाडीलाई गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, छात्रछात्रा कबड्डी, एथलेटिक्स ट्रयाक, हाइजम्म, लङजम्प तथा ट्रिपलजम्पमलगायत खेल समावेश गरिएका थिए ।

गाउँपालिकाका अध्यक्ष गुरुङले पालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राखेको बताए ।
उपाध्यक्ष अधिकारीले प्रतिस्पर्धात्मक खेलकुद प्रदर्शनले पालिकामा रहेको प्रतिभा, उत्साह र खेलप्रतिको समर्पणलाई अझ उजागर गरिदिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *