सिमरा घटनालाई देखाएर ‘अब देशभर यस्तै हुन्छ’ भन्ने त्रास नछरौँ

-नारायण गाउँले ।

सिमराको झडप र तनाव दुःखद छ, तर यसैलाई देखाएर अब देशभर यस्तै हुन्छ, यो त कास्टिङमात्रै हो भन्ने त्रास नछरौँ । बिर्सिन नमिल्ने के छ भने देशमा भर्खरै ठूलो राजनैतिक विद्रोह भएको छ । पालैपालो सत्ताको वरपर रहेका सबै दल सड़कमा आएका छन् । व्यवस्थाभन्दा बाहिरको सरकार छ । विद्रोहको ती दुई दिन छुट्टाछुट्टै तर इतिहासकै ठूला आपराधिक घटना घटेका छन् । पहिलो दिन दर्जनौं कलिला युवाहरूको निर्मम हत्या भएको छ भने दोस्रो दिन देशभर सरकारी, व्यापारिक र निजी सम्पत्ति जलेका छन् । दुबै अपराधको सुझबुझपूर्ण छानबिन र कारवाही नगर्ने हो भने देश नै असफल देखिने डर छ ।

चुनाव घोषणा भएको छ । तर सबैभन्दा ठूलो दल त्यसको विपक्षमा छ । ऊमात्रै होइन, जेनजीकै समूह पनि यथास्थितिमा चुनाव हुन नदिने पक्षमा देखिन्छन् । छानबिन आयोगको प्रतिवेदन आउनै छ र त्यसले ठूलो राजनीतिक भूकम्प ल्याउने डर पनि छ । पक्कै सबै पक्षलाई मान्य हुने निर्णय सम्भव छैन । राम्रो या नराम्रो जे आए पनि, चुनाबको मुख्य चुनौती नै आयोगको निर्णय र त्यसको कार्यान्वयन हुने अनुमान छ ।

एमालेको भर्सन आक्रामक र उत्तेजक छ । सबैभन्दा बढी खेदिएको जस्तो अवस्थामा भएकाले प्रतिक्रिया पनि उसैले बढी देखाएको हो । आफ्ना कार्यकर्तामा ऊर्जा भर्ने या तिनलाई भिड्न उत्साहित गर्ने उद्देश्य होला तर त्यसले सिङ्गो देशलाई मुठभेड़ र द्वन्द्वमा धकेल्न खोजेजस्तो देखिन्छ । उसले त्यो विद्रोहभित्रको लामो समयदेखिको नागरिक असन्तुष्टि र आक्रोशलाई स्वीकार नै गरेको छैन । अझ आफ्नै नेतृत्वको सरकारले चलाएको गोली र भएको हत्याको जिम्मेबारी आफूले नलिने जस्तो गैरजबाफदेहिता र गैर जिम्मेबारिता उसले देखाएको छ ।

देशको यो गम्भीर राजनीतिक समस्याको निकास कसरी निस्किन्छ भन्ने क्लियर छैन । पार्टी त कुन मुख्य र ठूला हुन् भन्ने थाहा छ, तिनले के चाहन्छन् भन्ने पनि थाहा छ तर जेनजी को हुन्, कति छन्, को मुख्य प्रतिनिधि हुन् र खास के चाहन्छन्, स्पष्ट छैन । यस्तो तरल स्थितिमा यस्ता झडपहरू सामान्य हुन् । हिजो दुई तिहाईको सरकार हुँदा पनि यस्ता झडप देखिन्थ्यो । मधेशमा त्यो बेला पनि आगो थियो । फ्रन्टलाइनमा यतिबेला एमाले र जेनजी नामका विभिन्न समूहमात्रै छन् । कांग्रेस–माओवादी या रास्वपाले मोर्चा छोडेका छन् । झडप पनि तिनै समूहबीच हुने हो, जो फ्रन्ट–लाइनमा छन् ।

स्थिति पक्कै जटिल र नाजुक छ । ठ्याक्क केले निकास दिन्छ भन्ने त थाहा छैन, तर देशको सबैभन्दा ठूलो दल एमालेलाई निषेध गरेर गरिने चुनावले कुनै निकास दिँदैन भन्ने सबैलाई थाहा छ । आमजनताको फ्रस्ट्रेशन, आक्रोश र चाहनाले निम्तिएको त्यो विद्रोहलाई अवमूल्यन र खिसिट्यूरी गरेर ओलीले देशलाई निकास दिने कुरा पनि दिवास्वप्न मात्रै हो । हिजोको त्यत्रो ठूलो विद्रोहको मुख्य टार्गेट ओली पनि हुन् ।
एमालेका नेताहरू मुठभेड निम्त्याउने शैलीमा बोलिरहेका छन् । जसले चुनाव चाहेको छैन, उसले स्थिति भड्काउन खोज्नु स्वाभाविक हो । जसरी हुन्छ, देश अशान्त छ, असुरक्षित छ र चुनावको वातावरण छैन भन्ने देखाउनु उसको उद्देश्य जस्तो छ । जसले तनाव र मुठभेडलाई साथ दिइरहेका छन्, फेसमा एमालेसँग भौतिक रूपमा जुधिरहेका छन्, तिनले पनि एमालेलाई मद्दत गरिरहेका छन् । जेनजीको नाममा अराजक र निषेधकारी शक्ति बढ्दै जाने हो भने त्यसले फाइदा गर्ने एमालेलाई नै हो ।

कम्तिमा यस्तो झडपलाई एकै दिन दशवटा हेडलाइन बनाएर नछापौँ । देशविदेशमा मासिक लेबी तिर्ने लाखौं कार्यकर्ता भएको र युवासङ्घमात्रै होइन, स्कुलमा शिक्षकसम्म जताततै बलियो सङ्गठन भएको एमालेसँग शक्तिप्रदर्शन गरेर जितिन्छ भन्ने सोच राख्नेहरूलाई बेलैमा सम्झाउँ । एमालेलाई पनि कसैले सम्झाउँ, सिङ्गो राज्यसत्ता र सुरक्षा निकाय हातमा हुँदा समेत हिजो भर्खर हेलिकप्टर चढेर भाग्ने स्थिति आएको हो । हिजो मन्त्री क्वार्टर छोडेर कुलेलम ठोकेको हो । केही भएको छैन जस्तो नाटक नगरौं । यो तरलता बढ्दै जाँदा त्यस्ता घटना फेरि दोहोरिन सक्छन्, जसले कसैलाई फाइदा गर्दैन । ठूलो दल भएकाले ठूलो छाती देखाएर समन्वयकारी भूमिका खेल्न पर्ने हो ।

जेनजी भन्ने, बीस जनाको बीस वटा ग्रुप बनाउने, आफैंभित्र विभाजित हुने, बीसथरी कुरा गर्ने, मन्त्री कसलाई बनाउने भन्नेमै ध्यान केन्द्रित गर्ने, सधैँ ढुङ्गामुड़ा गर्ने, गाली र निषेधबाहेक सिर्जनात्मक र निर्माणको बहस केही नगर्ने, यो सङ्क्रमणको निकास के हो भन्ने पनि छलफल नगर्ने र सधैँ यस्तै शून्यताकै पक्षमा देखिने हो भने यो विद्रोह एउटा कालो दाग बनेर इतिहासमा लेखिनेछ ।

राम्रो या नराम्रो जे बने पनि देश बनाउने जनताले हो । त्यसको मूलबाटो भनेको चुनाव नै हो । चुनावअघि नै सबैथोक गर्ने भन्ने कुरो लोकतान्त्रिक मर्मअनुसार हुँदैन । देशलाई सङ्क्रमणबाट छिटो बाहिर ल्याउने एमालेको चाहना हो भने उसले चुनाबकै लागि पहल गर्नुपर्छ । राम्रो कुरो के हो भने, यो सरकारले चुनाव गराउने प्रतिबद्धता देखाएको छ । यसलाई सघाउने हो, भड्काउने होइन । जेनजीले एमालेरहित देश बनाउन चाहेको हो भने पनि चुनाव नै एकमात्र बाटो हो । जनताले नचाहे एमालेमात्रै होइन, हरेक दल बढारिन सक्छ । तर अगुल्टो लिएर दल धपाउने भन्ने लोकतन्त्रमा सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *