अमेरिकी शान्ति योजना प्रस्तावपछि जेलेन्स्कीले ट्रम्पसँग वार्ता गर्ने

बीबीसी । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति योजनाको मस्यौदा युक्रेनलाई बुझाएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्ने भएका छन् ।

अमेरिकी विशेष दूत स्टिभ विट्कफ र उनका रुसी समकक्षी किरिल दिमित्रियेभले तयार पारेको भनिएको योजना युक्रेनलाई समावेश नगरी बनाइएको छ ।

जेलेन्स्कीको कार्यालयले अमेरिकाले प्रस्तुत गरेको मस्यौदाले ‘कूटनीतिमा नयाँ ऊर्जा भर्न सक्ने’ विश्वास व्यक्त गरेको र युक्रेनले ‘न्यायपूर्ण शान्ति ल्याउने दिशामा योजना अध्ययन गर्न सहमति जनाएको” बताएको छ।

मस्यौदाबारे विवरण सार्वजनिक नभए पनि शान्ति योजनाले युक्रेनलाई अझै आफ्नो नियन्त्रणमा रहेका डोनबासका केही भूभाग त्याग्न, सेनाको आकार घटाउन र धेरै हतियार परित्याग गर्नुपर्ने प्रस्ताव समावेश गरेको बताइन्छ, जुन मस्कोका हिततर्फ स्पष्ट झुकाव भएको भन्दै कीभले आपत्ति जनाएको छ ।

तर ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले योजना युक्रेनलाई ठूलो सम्झौता गराउन खोजिएको दाबी अस्वीकार गर्दै दूत विट्कफ र विदेश मन्त्री मार्को रुबियो ‘दुवै पक्षसँग समान रूपमा संलग्न भएको’ बताइन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकासँग ‘सम्पर्क’ भए पनि ‘औपचारिक परामर्शजस्तो केही नभएको’ बताए।

योजना प्रस्ताव अमेरिकी सैनिक उच्च अधिकारीहरूसँग जेलेन्स्कीको कीभमा भएको भेटपछि सार्वजनिक भएको हो

युरोपेली संघका वरिष्ठ अधिकारीहरूले कीभ र ब्रसेल्सलाई बाइपास गरेर शान्ति प्रस्ताव नल्याउन चेतावनी दिएका छन्। युक्रेनी सांसद लिसा यास्कोले बीबीसीसँग भनिन्, ‘हामीसँग परामर्श नगरिकन हाम्रो सट्टा निर्णय गर्न खोजिएको देखिन्छ, जुन अत्यन्त पीडादायी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *