निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने सुरक्षा परिषदको निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको परिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ ।

प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारे पनि छलफल भएको परिषद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी थिए ।

एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृह मन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *