अस्ट्रेलियामा इन्स्टाग्रामले किशोरकिशोरीको अकाउन्ट बन्द गर्ने

बीबीसी । अस्ट्रेलियाले १६ वर्ष मुनिका निम्ति सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै गर्दा त्यहाँका किशोरकिशोरीलाई तिनको इन्स्टाग्राम, फेसबुक र थ्रेड्स अकाउन्ट बन्द गरिन लागेको जानकारी दिइएको छ ।

ती तीनथरी सामाजिक सञ्जालको मालिक कम्पनी मेटाले भनेको छ उसले १३ देखि १५ वर्ष उमेरकाहरूलाई उनीहरूको अकाउन्ट डिसेम्बर ४ देखि निष्क्रिय बन्ने सूचना टेक्स्ट, इमेल वा एपमार्फत् दिन थालेको छ । अस्ट्रेलियामा सो प्रतिबन्ध डिसेम्बर १० देखि लागु हुँदैछ । उक्त प्रतिबन्धले टिकटक, यू ट्यूब, एक्स र रेडिटलाई पनि समेट्छ।

प्रधानमन्त्री एन्थनी अल्बानेजीका अनुसार ‘विश्वकै पहिलो’ त्यस्तो प्रतिबन्ध ’बच्चाहरूलाई बच्चाकै रूपमा रहन दिन’ लक्षित छ। मेटा तथा अन्य कम्पनीहरूले प्रतिबन्धको विरोध जनाए तर त्यसलाई मान्ने बताए।
अस्ट्रेलियाको इन्टरनेट नियामक निकायले त्यहाँ १३ देखि १५ वर्ष उमेर समूहका १,५०,००० फेसबुक प्रयोगकर्ता तथा ३,५०,००० इन्स्टाग्राम प्रयोगकर्ता रहेको अनुमान गरेको छ ।

डिसेम्बर ४ देखि १६ वर्ष मुनिका उमेर समूहकाले मेटाका कुनै पनि सामाजिक सञ्जाल अकाउन्ट खोल्न पाउने छैनन्। कम्पनीले किशोरकिशोरीहरूलाई तिनको सम्पर्क विवरण उपलब्ध गराउन भनेको छ ताकि तिनको उमेर पुग्नासाथ उसले अकाउन्ट खोल्न सकिने सूचना उपलब्ध गराउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *