-योगेश भट्टराई
२०७२ साल असोज ३ गते तत्कालिन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेस प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रहयो । एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साधियो । पार्टी कार्यालय लगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटक/पटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनस्र्थापित गर्यों । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिट सहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो ।
मधेसमा पार्टीलेप्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा व्यक्ति/ व्यक्तिको खटन/पटन गर्नु भएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।
यसबीचमा मैले करिब १५ महिना मधेस प्रदेशको इंचार्जको भूमिका निर्वाह गरें । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौं । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जनसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।
मधेसमा रहेको जातिय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनका विरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संसाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड र तराई/मधेसको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेसमा पार्टीको जनआधार विस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेसका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिवेला जनतासंग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।
आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छबिमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ(यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुनेनै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कसका कारणले भयो ?
मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यि तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।
