काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउपर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको छ ।
एनपिएल दोस्रो संस्करणको क्रिेकट प्रतियोगितामा सहभागी खेलाडीलाई स्पोन्सर गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
