काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
निर्वाचन लक्षित सुरक्षा योजना चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयमार्फत कार्यान्वयन चरणमा रहेको छ ।
बैठकले प्रदेशस्तरमा प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापन सक्रिय हुन लेखी पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
उक्त विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने बैठकको निर्णय छ । बैठकले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायबाट सुरक्षा चुनौतिको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषण भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
