काठमाडौंलाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा साविक विजेता सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद शुरूवात गरेको हो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो । काठमाडौंको लागि आकाश त्रिपाठीले ३४, जोन सिम्प्सनले २४, भीम शार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।

सुदूरपश्चिमको लागि स्कट कुगलाइन, हेमन्त धामी र हर्मित सिंहले समान दुई/दुई विकेट तथा इशान पाण्डे, नरेन साउद र अविनाश बोहोराले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । सुदूरपश्चिमको लागि हर्मित सिंहले अर्धसतक बनाए । एक समय ७२-६ को स्थितिमा रहेको सुदूरपश्चिमलाई कप्तान दिपेन्द्र सिंह एरी र हर्मित सिंहले अर्धसतकीय साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका थिए । हर्मितले २० बलमा ६ छक्का र २ चौकाको मद्दतमा ५३ रन बनाउँदा दीपेन्द्रले ३९ रन बनाए । यस्तै आरिफ शेखले २६ र इशान पाण्डेले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौंको लागि करण केसीले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रशिद खानले समान दुई/दुई विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *