सत्तालाई एमालेमाथि दमन गर्न छैन त्यति सहज

-ऋषि कट्टेल।

नेपालको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता गम्भीर अन्तरविरोधको चक्रमा फसेको छ । यो अन्तरविरोधले दुश्मनीको रुप लिइरहेको छ । भदौ २३, २४ को घटनाले यो अन्तरविरोधलाई अझै उचाइमा उठाएको छ र उनीहरुबीच मुठभेडको स्थिति उत्पन्न हुने परिवेश बनिरहेको छ । मुख्य अन्तरविरोध राज्य सत्ता र ओली अर्थात् एमालेबीच देखिन्छ । ओली सत्ताच्युत भएपछि ओली र उनको पाटी सकिन्छ वा उनले आत्मसमर्पण गर्छन् भन्ने विश्लेषण ओली र उनका पछिल्ला गतिविधिले गलत सावित गरिदियो । एमाले प्रतिरोधमा उत्रियो । सत्तालाई एमालेमाथि दमन गर्न त्यति सहज छैन । आउने महाधिवेशनबाट ओलीलाई नेतृत्ववाट हटाउन पनि सजिलो छैन । त्यसकारण ओली र सत्ताबीचको शक्ति संघर्ष अझै बढ्ने देखिन्छ ।

दोस्रो जेनजीका माग र सुशीला सरकारबीचको अन्तरविरोध पनि क्रमशः बढ्दै छ । तेस्रो पछिल्लो घटनामा सेनाले खेलेको भूमिका हेर्दा वर्तमान संविधान पक्षधर र सेनाबीचको विश्वास धर्मराएको छ । सेना र संसदवादी दलहरुबीचको अन्तरविरोध पनि बढ्दो छ । चौथो वाह्य शक्तिहरुको खासगरी इण्डो–अमेरिकी शक्तिबीचको शक्ति संघर्ष पनि उत्कर्षमा छ ।

पाँचौ पार्टी भित्रको अन्तरविरोध र पार्टी पार्टी बीचको अन्तरविरोध पनि बढिरहेकोछ । काँग्रेस अन्तरविरोधले थला बसेको छ । यस्तो संगीन अवस्थामा पनि अनिर्णयको बन्दी हुनु यसैको परिणाम हो । एमाले भित्रपनि ओलीसँगको अन्तरविरोध बढिरहेको छ । नयाँ भनिएकाहरुमा पनि एकरुपता छैन । यि सबै अन्तर विरोधहरुलाई केलाउँदा प्रतिक्रियावादी राज्य सत्ताभित्र गम्भीर संकट सिर्जना भएको छ । देश नयाँ द्वन्द्वको बाटोतिर जाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *