वाशिङ्टन । अमेरिकी कांग्रेसका दुबै सदनले यौन अपराधी जेफ्री एप्पस्टिनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय विभागलाई आदेश दिने विधेयक पारित गरेका छन् । प्रतिनिधिसभाले ४२७–१ मतले प्रस्तावलाई अनुमोदन गर्यो भने सीनेटले सर्वसम्मत सहमतिबाट द्रुतगतिमा पारित गर्यो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो अडान छाडेपछि विधेयक तीव्र गतिमा अघि बढेको हो । आफ्ना समर्थकहरूको आलोचनापछि ट्रम्पले फाइल सार्वजनिक गर्न कांग्रेसलाई आग्रह गरेका थिए।
हालै सार्वजनिक भएका २० हजारभन्दा बढी पृष्ठका कागजातमा ट्रम्पसम्बन्धी केही विवरण आएपछि यो मुद्दा फेरि चर्किएको थियो। ह्वाइट हाउसले भने कुनै गलत कार्य नगरेको दाबी गरेको छ ।
प्रतिनिधिसभामा लुइसियानाका रिपब्लिकन क्ले हिगिन्स एक्ला विरोधी रहे। उनले ‘निर्दोष व्यक्तिहरूलाई क्षति पुग्न सक्ने’ चिन्ता व्यक्त गरे ।
रिपब्लिकन नेतृत्वका लागि पनि ट्रम्पको अचानक परिवर्तन अप्रत्याशित रह्यो।सभामुख माइक जोन्सनले यसअघि एप्पस्टिन फाइल सार्वजनिक गर्ने प्रयासलाई “डेमोक्रेटटहरूको हौवा” भनेका थिए। तर मंगलबार उनले प्रस्तावका पक्षमा मतदान गरे।
सीनेटमा अल्पसंख्यक नेता चक शुमरले ‘युनानिमस कन्सेन्ट’ प्रक्रियामार्फत विधेयक अगाडि बढाए। कसैले आपत्ति नजनाएपछि छलफल वा संशोधनबिनै विधेयक पारित भयो।
अब विधेयक राष्ट्रपतिको हस्ताक्षरका लागि ह्वाइट हाउस पुग्दैछ, जहाँ यसलाई कानुनका रूपमा प्रमाणीकरण हुने अपेक्षा गरिएको छ ।
