काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । मंगलबार दिउँसो भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हराएको हो ।
जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । चितवनको लागि रवि बोपराले अर्धसतक बनाए । उनले ३६ बलमा ३ छुका र ३ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए । यस्तै दीपक बोहोराले ४२, सैफ जैबले ३८ र कुशल मल्लले २० रनको योगदान गरे ।
कर्णालीको लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर दुई विकेट लिँदा युनिष सिंह, मार्क वाट र युवराज खत्रीले समान एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । कर्णालीको लागि प्रियङ्क पन्चलले सर्वाधिक ९० रन बनाए । उनले ४८ बलमा ७ चौका र छ छक्का प्रहार गरे । यस्तै पवन सरार्फले २७, मार्क डो’वुडले १६, मार्क वाटले १६ र नाजिबुल्लाह जद्रानले ४ रनको योगदान गरे ।
चितवनको लागि सोहिल तन्भिर, सैफ जैब र रवि बोपाराले समान एक/एक विकेट लिए ।
जितसँगै चितवनले दुई अंक जोडेको छ ।
आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
