बीबीसी । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्तिबारे २० बुँदे योजनासम्बन्धी अमेरिकाले मस्यौदा गरेको प्रस्तावको पक्षमा मत दिएको छ । सो योजनाअन्तर्गत इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स (आईएसएफ)को स्थापना गरिने छ ।
अमेरिकाका अनुसार कैयन् नाम नखुलाइएका देशहरूले उक्त (शान्ति कायम गर्ने) फौजमा योगदान दिन रुचि देखाइसकेका छन् । अमेरिकी प्रस्तावका पक्षमा सुरक्षा परिषद्का १५ सदस्यमध्ये यूके, फ्रान्स र सोमालियासहित १३ सदस्यले मत दिए भने रुस र चीन मतदानमा सहभागी भएनन् ।
राष्ट्रपति ट्रम्पले सो प्रस्तावलाई राष्ट्रसङ्घले अनुमोदन गरेकोलाई स्वागत गरेका छन् । यसले विश्वभरि थप शान्ति कायम हुने उनले बताए । हमासले प्यालेस्टिनीहरूको अधिकार तथा माग सम्बोधन नगरिएको भन्दै उक्त योजना अस्वीकार गरेको छ ।
हमास समूहले टेलिग्राममा आफ्नो धारणा राख्दै सो योजनाले ‘गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय अभिभावकत्व सहितको संयन्त्र थोपर्ने र त्यसलाई हाम्रा जनता र तिनका समूहले अस्वीकार गर्ने’ जनाएको छ । ‘गाजा क्षेत्रभित्र अन्तर्राष्ट्रिय फौजलाई विद्रोहको निरस्त्रीकरण सहितका कार्य तथा भूमिका दिँदा त्यसको तटस्थता गुम्छ र त्यो फौज नै सो क्षेत्रको अधीनस्थताको समर्थनमा हुने गरी द्वन्द्वको एउटा पक्ष बन्न पुग्छ,’ उसले भनेको छ ।
पछिल्लो प्रस्ताव बारेका विवरणअनुसार त्यहाँ खटाइने भनिएको आईएसएफको भूमिका ’हमास सहितका गैर राज्य पक्षीय सशस्त्र समूहहरूको स्थायी निरस्त्रीकरण’ गर्नु तथा गैरसैनिक एवं मानवीय सहायता मार्गको रक्षा गर्नु रहने छ ।
यसको मतलब बेलायतसहित कतिपय देशले आतङ्ककारी सङ्गठन भन्दै आएको हमासले आफ्ना हतियार बुझाउनु पर्ने छ । इजरायल अनि गाजाको दक्षिणी छिमेकी इजिप्टसँग मिलेर आईएसएफलाई काम गर्न दिनुका अतिरिक्त सो प्रस्तावमा गाजामा नयाँ प्रशिक्षित प्यालेस्टीनी प्रहरीको स्थापना गरिने पनि उल्लेख छ । अहिलेसम्म गाजामा हमासकै नेतृत्वमा प्रहरी सञ्चालित थियो ।
