कथित पूर्व–वाग्नर लडाकु फिनल्याण्डबाट रूस निर्वासित

हेलसिन्की । फिनल्याण्डले जूनमा दुई देशबीचको सीमा पार गर्ने एक रूसी व्यक्तिलाई निर्वासित गरेको सीमा रक्षकले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले उनी पूर्व–वाग्नर भाडाका सैनिक भएको उल्लेख गरेका छन् ।

पूर्वी फिनल्याण्डको किटी शहर नजिकैको जङ्गलबाट अवैध रूपमा सीमा पार गरेपछि सीमा रक्षकहरूले ती व्यक्तिलाई जुन १७ मा पक्राउ गरेका थिए।

उनले फिनल्याण्डमा शरण मागेका भएपनि फिनल्याण्डका अध्यागमन अधिकारीहरूले उनको अनुरोधलाई अस्वीकार गर्दै डिपोर्ट गर्न आदेश दिएका हुन्।

सीमा रक्षकका एक अधिकारीका अनुसार उनलाई नोभेम्बर १४ मा निर्वासित गरिएको थियो ।
“हाम्रो गस्तीले उनलाई निरला सीमा नाकामा पुर्यायो । त्यहाँबाट ती व्यक्ति रुसी सीमातर्फ गएका थिए,” नर्थ कारेलिया सीमा सुरक्षा केन्द्रका मिक्को कालिनेनले भने ।

ती व्यक्तिको पहिचान आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन, तर सार्वजनिक प्रसारक येलले उनलाई अहिले विघटन गरिएको रूसी अर्धसैनिक कम्पनी वाग्नरका पूर्व लडाकु ‘येवगेनी’ को रूपमा पहिचान गरेको छ।

कालिनेनले भने, “प्रारम्भिक अनुसन्धानले व्यक्तिको सैन्य पृष्ठभूमिको पुष्टि गरेको छ, तर वाग्नरसँगको उनको सम्बन्धको बारेमा उल्लेख गरेको छैन।”

वाग्नरले अफ्रिका, मध्य पूर्व र युक्रेन युद्धमा क्रेमलिनको लक्ष्यको खोजीमा आफ्नो क्रूर तरिकाहरूको लागि विश्वव्यापी कुख्याति कमाएको छ।

सामाजिक सञ्जाल र प्रकाशित भिडियोहरूमा ती व्यक्तिले सार्वजनिक रूपमा आफूलाई वाग्नर सैनिकको रूपमा चिनाएका छन् र रुसी सैन्य नेतृत्वको आलोचना गरेका छन्।

एएफपीले देखेको पूर्व–परीक्षण अनुसन्धान रिपोर्टका अनुसार ती व्यक्तिले उनी युक्रेनमा रूसका लागि लडेका र पछि देश छोडेको दाबी गरेका थिए।

क्रेमलिनको युक्रेनमा आक्रमणलाई लिएर दुई देशबीच तनाव बढेपछि फिनल्याण्डले सन् २०२३ डिसेम्बरमा रूससँगको १,३४० किलोमिटर (८३० माइल) सीमा बन्द गरेको छ।

‘नर्डिक’ मुलुक फिनल्याण्डले अहिले रूससँगको आफ्नो सीमामा २०० किलोमिटर लामो तारबार निर्माण गर्दैछ, जुन सन् २०२६ मा पूरा हुनेछ । यो परियोजनाको अनुमानित लागत ३८ करोड युरो अर्थात् झण्डै ४४ करोड १० लाख मिलियन डलर) छ।

सन् २०२३ मा वाग्नर भगौडा भएको दाबी गर्ने एक रूसी व्यक्तिले स्क्यान्डिनेभियन देशमा भागेपछि नर्वेमा शरण मागेका थिए।

उनको अनुरोध अस्वीकार गरिएको थियो तर रूस फर्कने जोखिमको कारण उनलाई अस्थायी आवास अनुमति दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *