लागोस । एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली किशोरी (छात्रा)हरूका लागि पठनपाठन हुने माध्यमिक विद्यालयबाट २५ जनालाई अपहरण गरेका छन् । उक्त अपहरणका क्रममा आक्रमणकारीले एक कर्मचारीको हत्या गरेका छन्।
अशान्त उत्तरपूर्वी क्षेत्रको चिबोकबाट करिब ३०० बालिकाहरू अपहरण भएको र अन्तर्राष्ट्रिय आक्रोश मच्चिएको एक दशकभन्दा बढी समयपछि पछिल्लो आक्रमण भएको हो।
त्यसबेलादेखि विद्यालयका बच्चाहरूलाई संलग्न गरिएका अन्य अपहरणहरूका श्रृङ्खलाहरू पनि सार्वजनिक भएका छन् ।
प्रहरीले भनेको छ, “अत्याधुनिक हतियारले सुसज्जित समूहले छिटपुट रूपमा गोली चलाउँदै स्थानीय समयअनुसार बिहान ४ः०० बजे केब्बी राज्यको सरकारी ‘गल्र्स कम्प्रिहेन्सिभ सेकेन्डरी स्कूल’मा आक्रमण गरेको थियो ।”
घटनापश्चात, प्रहरीलाई तैनाथ गरिएको तर दुर्भाग्यवस, अपहरणकारीले विद्यालयको बारलाई नाघेर पच्चीस जना विद्यार्थीहरूलाई उनीहरूको छात्रावासबाट अज्ञात गन्तव्यमा लगेका थिए।
संयुक्त राष्ट्रसङ्घका लागि तयार पारिएको एक प्रतिवेदनमा उक्त विद्यालयका उपप्रमुखको गोली लागेर मृत्यु भएको उल्लेख छ भने एक जना सुरक्षा गार्ड घाइते भएका छन् ।
अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्न र गिरोहहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको प्रहरीले बताएको छ।
