दोधारा चाँदनी। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।
निर्देशनालयका अनुसार यस वर्ष ६ लाख ८७ हजार ८७७ ‘मेट्रिकटन’ धान उत्पादन भएको छ । गत वर्ष सुदूरपश्चिममा ६ लाख ३६ हजार २९६ मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०-८१ मा ६ लाख ७२ हजार ९२८ मेट्रिकटन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७९-८० मा ६ लाख ४८ ९४२ मेट्रिकटन धान उत्पादन भएको थियो । सुदूरपश्चिममा एक लाख ७७ हजार २३० ‘हेक्टर’ क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि हुँदै आएको बताए।
‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै धान उत्पादन हुन्छ,’ उनले भने, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण धान उत्पादनमा वृद्धि भएको हो ।’
पछिल्लो समयमा सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान तथा प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको हो ।
‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ,’ सूचना अधिकारी पाण्डेयले भने, ‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए। कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडान समेत गर्ने गरेको उनले बताए ।
गत वर्ष ज्ञान केन्द्रले यहाँका नौ स्थानीय तहमा ७७६ साना सिँचाइ (ट्युबेल)जडान गरेको थियो ।
‘हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने, ‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।’ उनका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रुपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।
