मृत्युदण्डको फैसला पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरितः शेख हसिना

बीबीसी । मृत्युदण्डको सजाय सुनाइएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले फैसला राजनीतिक रुपबाट प्ररित भएको टिप्पणी गरेकी छन् ।

मृत्युदण्ड हुने फैसला आएपछि उनले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै त्यो ‘पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित भएको’ टिप्पणी गरेकी हुन् ।

विज्ञप्तिमा उनले अन्तरिम सरकारमाथि आफ्नो पार्टी ‘अवामी लीगको राजनीतिक शक्ति’ मेटाउन खोजेको आरोप पनि लगाएकी छन् । यसअघि गत साता बीबीसीलाई इमेलमार्फत् पठाएको जवाफमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित ‘क्याङ्गरू कोर्ट’ मा सुनुवाइ भएको भन्दै त्यसलाई “नौटङ्की“को सङ्ज्ञा दिएकी थिइन् ।

उनले बाङ्ग्लादेशको अन्तरिम सरकारलाई आफूविरुद्ध द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मुद्दा चलाउन चुनौती दिएकी छन् । ‘प्रमाणहरू राम्ररी केलाइने र जाँचिने एउटा उचित ट्राइब्यूनलमा म आफूमाथि आरोप लगाउने पक्षहरूको सामना गर्न डराउँदिनँ,’ उनले भनिन् ।

उनले आफू मानवाधिकार र विकासमा आफ्नो सरकारको “रेकर्ड“प्रति गौरवान्वित भएको तर्क पनि गरिन् । फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए ।

मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए । इजलासको अध्यक्षता गरेका न्यायाधीशले हसिनासहितका पदाधिकारीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसाको विवरण विस्तारपूर्वक पढेर सुनाएका थिए । अदालतबाहिर एउटा सानो समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेको थियो ।

बङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र ‘मानवताविरोधी अपराध’ गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घको एउटा अनुमानअनुसार आन्दोलनका क्रममा १४ सयको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *