काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनकाबारेमा विधानभन्दा बाहिर गएर पार्टीले निर्णय गरे आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा महामन्त्री शर्माले विधानअनुसार विशेष महाधिवेशनको मागलाई वेवास्ता गरिए आफूले पद छाड्ने बताएका हुन् । सिंगापुरमा उपचार गराई शुक्रबार स्वदेश फर्केका देउवाले नेताहरुसँग भेटवार्ता गर्दैै आएका छन् ।
देउवासँगको भेटमा महामन्त्री शर्माले आवेगमा विधानविपरीत निर्णय गरे आफूले तत्कालै राजीनामा दिने चेतावनी दिएको शर्मा निकट एक नेताले जानकारी दिएका छन् ।
महामन्त्री शर्माले भने, ‘विधानविपरीत आवेगमा निर्णय लिने हो भने त्यस्तो अवस्थामा तत्कालै लागू हुने गरी महामन्त्री पदबाट राजीनामा दिन्छु ।’
भेटमा महामन्त्री शर्माले पार्टी केन्द्रीय समिति बैठकमा नेताहरुको धारणाकाबारेमा पनि देउवालाई ब्रिफिङ गरेका थिए ।
एक महिनादेखि चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउन सकेको छैन । संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्न चाहन्छ भने इतरपक्ष महाधिवेशन गरेर निर्वाचनमा जान चाहन्छ ।
