हिरासत कक्षको समस्या समाधान गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन गरेको छ ।

कात्तिक २७ र २८ गते आयोगको टोलीले काठमाडौंको सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्तहरू, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो ।

आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट समेत उपत्यका बाहिरका जिल्लामा रहेका हिरासत कक्षहरूको अनुगमन सुरु गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

अनुगमनका क्रममा आन्दोलनपश्चात पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरूलाई स्वास्थ्य परीक्षण गरिएको पाइएता पनि हिरासतमा रहेको शौचालय तथा सरसफाईको अभावका कारण दुर्गन्ध आएको र केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोली समक्ष गुनासो गरेका थिए । केही हिरासतमा महिला कक्षको अभाव रहेको र भौतिक संरचनाहरूको अभाव रहेको लगायतका जानकारीहरू अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाहरूको लागि अत्यावश्यक सामग्रीहरूका लागि समेत बजेट अभाव रहेको जानकारी प्राप्त भएको भन्दै आयोगले हिरासतहरूमा विद्यमान यी समग्र समस्याहरूको समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *