ओलीको प्रश्नः खासमा यो सरकार कसको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् । प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेनजीबाट नबनेकोले यो सरकार कसको भन्ने प्रश्न गरे । उनले भने, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ। दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ। संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ । आखिर यो सरकार कसको हो ?’

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको उनले आरोप लगाए । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थान हद गर्न सरकार विभिन्न समूहका नाममा माग पत्र, ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ।

उनले भने, ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंस्कारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ। कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ । यो कुनै जेनजी समूहले गरेको होइन। सरकारले आफैं यस्ता समुहहरु खडा गरेर, आफैं ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो।’ यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उनले बताए ।

गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहिनतालाई प्रश्रय दिएको उनले बताए । अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनस्र्थापना एक मात्र विकल्प भएको बताए ।

‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने, ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *