काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले आइतबार पछिल्लो तीन महिनाको वित्तिय स्थिति सार्वजनिक गरेको हो ।
बैंककाअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै नेपालको कुल विदेशी विनिमय सञ्चिति यसवर्ष उल्लेखनीय बढेको छ । असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति असोज मसान्तमा ११.३ प्रतिशतले वृद्धि भई २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाली विदेश जाँदा गर्ने खर्च १६.४ प्रतिशतले वृद्धि भएको छ ।
बैंककाअनुसार साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै पछिल्लो तीन महिनामा नेपाली विद्यार्थी विदेश जाँदा मात्र ४२ अर्ब ९६ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जानाएको छ ।












