अब दलतन्त्र होइन, नागरिकतन्त्र

-डा. युवराज संग्रौला ।

हामीले समग्ररुपमा लत्याएका केही महत्त्वपूर्ण सोचहरु, जसले हामीलाई आज गरिबीको खाडलमा बाँच्न त बाध्य पारेकै छ, तर अराजकता र पलायनका पात्रमा परिणत पनि गरेको छ।

१. हामीले कहिल्यै बुझ्न सकेनौं, हामी हाम्रो ‘भविष्य बनाउन सक्दैनौं, केवल आफ्नो आदत निर्माण गर्न सक्छौं, जुन आदतले हाम्रो भविष्य बनाउँछ।’ हामी हाम्रो वर्तमानलाई राम्रो बनाउन सक्छौं जसले हाम्रो भविष्य राम्रो बनाउँछ ।’ यसको तात्पर्य ‘हिजो हामीले वर्तमान बनाएनौं, जस्ले गर्दा हाम्रो विगतको वर्तमानले हाम्रो भविष्य खोस्यो।’

२. हामीले ‘स्थानीय तहमा मानिसको आय आर्जनलाई शिक्षासँग जोडेनौं । राज्यलाई कब्जा गरेका शासकहरुबाट घरेलु उद्योग र उन्नत खेतीबाट स्थानीय आयआर्जन गर्ने नागरिक सशक्तिकरणका योजनालाई सधैं लत्यायौं । २०४७ मा रोपिएको लोकतन्त्र नामको कुलिनतन्त्रले के बुझेको’ थियो भने नागरिकलाई ‘अशिक्षित मतदाता’ बनाएर राख्नुनै आफ्नो अधिनको सुनिश्चितता हो।’ त्यसैले त्यस व्यवस्थाले ‘व्यक्तिलाई ‘जनता’ ( कुलीनहरुका अधिनमा रहेका निरीह मान्छे) मात्र बनाएर राख्यो, नागरिक बन्न कहिल्यै दिएन । उसलाई थाहा थियो, नागरिक बन्न मान्छेले ‘उत्पादनमा दक्ष हुनुपर्छ, उत्पादनमा दक्ष हुन शिक्षित हुनुपर्छ, त्यो मान्छे मात्र शिक्षित हो जोसँग आयआर्जन गर्ने सीप छ र नयाँनयाँ वस्तु उत्पादन गर्ने विज्ञान र प्रविधिको सामथ्र्य छ।’ त्यसैले आजसम्म नेपालका शासकले “शिक्षाका नाममा भ्रम सिकाइरहे। त्यसैले मानिससँग एक झोला प्रमाणपत्र छन् तर उन्नतिको सीप र कला कतै छैन, जीवनको उत्थान गर्ने सोच कतै छैन। अतःमानिस आजपनी सिर्फ झोले बन्न र कसैको सत्ता प्राप्तिको सहायक बन्न बाध्य छ।

३. विदेशी पुँजीवाद र शासकले आफ्नो व्यापार विस्तारको स्वार्थका लागि हाम्रा शासकलाई सहयोग गरे। विदेशीले भने’ ठुलठुला बाँध, परियोजना, र लगानीले रोजगार निर्माण गर्छ, देश चाँडै विकास हुन्छ। । तब मेलम्ची जस्ता योजना आए, ठुलठुला विद्युत परियोजना आए। अनी विदेशीका ऋृण आए। यिनै परियोजनाको ऋृण २८ खर्ब पुगेको छ। भ्रस्टाचार व्यापक भएको छ। भ्रष्टाचारले बनेका घर त थिए, ती पनि डढेर खरानी भए। के पायौं नेपाली नागरिकले विगत ७० वर्षमा ? केवल पलायनको संस्कार!
विदेशी यन्त्र, विज्ञ र प्रविधिले हाम्रा बजार नियन्त्रण गरे । शासकहरुले ‘रैथाने शिक्षाको आधुनिकिकरण त गरेनन् नै बरु त्यसको उन्मूलन गरे, रैथाने प्रविधिको उत्थान गरेनन उन्मूलन गरे। रैथाने बीउ, बाली, वस्तुको उन्नयन गरेनन् बरु उन्मूलन गरे। स्थानीय व्यापारी मासे । शिक्षा, बाटो, स्थानीय उत्पादन, बजार र श्रोतको संयोजन गरेर स्थानीय आयआर्जन गर्ने घरेलु उद्योगको उन्नयन गर्दै स्थानीय वस्तु उत्पादन र खपतको आर्थिक संस्कार निर्माण गरेनन् बरु ‘दूध बेचेर कोक पिउने अनि चाउमिनले भात विस्थापित गर्ने’ उपभोक्तावादी संस्कार निर्माण गरे। कृषकहरुको टाट पल्टियो । कृषकले मल कालोबजारमा किन्नु पर्छ। उत्पादनमा १०० रुपैयाँ खर्च गरेर ९० रुपैयाँमा बेच्नुपर्छ। तब किसानहरु रोजगारीको लागि अरबतिर पलायन हुन थाले। गरीब झन् गरीब हुँदै गए। थोरै मानिस धनी भए। यी धनी र नेताले मीत लगाए र दुबै अर्बपती भए। हाम्रो काँधमा झुन्डिएको लोकतन्त्रको उद्देश्य यही थियो, यही भयो। यो कथित लोकतन्त्र नामको दलतन्त्र निरीह नेपालीलाई नागरिक नेपाली बनाउन आएको थिएन। अब त हामीलाई थाहा हुनुपर्छ ‘साँढेको गोठ पालेर दुधको व्यापार हुँदैन।’

४. हाम्रो आर्थिक उन्नतिका चार आधार छन् ती हुन्, जमिन, जल, जङ्गल र जन्तु।

– जमिनको माटोलाई प्राकृतिक पोषण गर्दै खेतीलाई विज्ञान र प्रविधिको सहयोगले उन्नत बनाउनुपर्छ र ‘राज्यले देशको उत्पादन प्रयोग गर्दै खाद्यान्न, तरकारी, फलफूलको आयात निषेध गर्नुपर्छ। कृषि उत्पादनलाई औद्योगिक उत्पादनमा पररिणत गरि राज्यले ‘ब्रान्ड’ बनाइ निर्यातको सहजीकरण गर्नुपर्छ। यसका लागि राज्यले आफ्नो कुटनीतिलाई जनताको समृद्धिका लागि केन्द्रित गर्नुपर्छ। जमिनलाई राज्यले आफ्नो स्वामित्वमा राखी किसानलाई भोगाधिकार दिनुपर्छ। जमिनलाई किसानको सम्पति मानी “जमिनको किनबेच राज्य र नागरिकका बीचको कारोबार बनाउनुपर्छ।’ यो व्यवस्था लागू गरेपछि मात्र जमिनको व्यवस्थापन गर्न सकिन्छ। व्यक्ति व्यक्तिका बीचमा जमिनको कारोबार बन्दगरी मालपोत र नापी कार्यालय जस्ता निकायको उन्मूलन गरेपछि, भ्रस्टाचारको ठूलो अंश समाप्त हुन्छ। तर यी सबै काम गर्न नागरिकप्रति उत्तरदायी सरकार चाहिन्छ अतः ‘वर्तमान नेताहरू(नव कुलीनहरु) ले लुटतन्त्र संरक्षण गर्न पालेको दलतन्त्रलाइ ‘नागरिकतन्त्र’ द्वारा विस्थापित गर्न संविधानमा आमूल परिवर्तन गर्नुपर्छ।

– जलमा स्थानीय नागरिक सरकारको प्राथमिक भोगाधिकार हुनुपर्छ। लघु विद्युत र सिचाइद्वारा स्थानीय सरकारको आय निर्माण गर्दै, विद्युतको उत्पादन सर्वप्रथम नागरिकहरुलाई उत्पादनको लागि आवश्यक उर्जाका लागि प्रयोग गर्नुपर्छ। ठुला परियोजनाद्वारा विद्युत उत्पादन गरि विदेशीलाई बेच्ने गफ केवल जलमाथी राज्यको अधीन समाप्त गरि विदेशी र माफियाको अधीन निर्माण गर्ने खेल मात्र हो। पानीको संरक्षण गरि ‘खानेपानीको’ उद्योगको विकासमा स्थानीय नागरिक सरकारको सामथ्र्य निर्माण गर्नुपर्छ। पानीको प्रयोग कृषिमा अधिक गर्दै ‘लघुविद्युत, कृषि, घरेलु उद्योग, र स्थानीय बजार’ को एकीकृत विकास नीतिद्वारा ‘राष्ट्रिय स्वनिर्भरता’ को निर्माणका लागि नागरितन्त्र आवश्यक छ। तसर्थ अब दलतन्त्रको अन्त र नागरिकतन्त्रको उदय आवश्यक छ।

– जंगल पानी र समग्र प्रकृतिको श्रोत हो, जसबाट वातावरण वा पर्यावरणको सन्तुलित चक्र (इको सिस्टम) कायम हुन्छ। यही इको सिस्टमलाई नेपालले ‘धनको श्रोत’ बनाउनु पर्छ। जंगलको प्रयोग र संरक्षणको लागि ‘नेपाली सेनाको मातहत रहने गरि ‘पर्यावरण बृगेड’ बनाउनु पर्छ, जस्ले जंगलको सुरक्षा गर्छ, वनपैदावारमा आधारित औद्योगिकरणको नेतृत्व गर्छ र जंगलमा फलफुलको खेती गर्छ। यही नीतिले मानिस र वन्यजन्तु बीचको द्वन्द्वलाई पनि समाप्त गर्छ। जडिबुटीको औद्योगिक उत्पादन र प्रशोधनले हामीलाई संसारकै धनी देश बनाउने छ। यसका लागि पनि नागरिकतन्त्रमा आधारित नागरिक सरकार चाहिन्छ।

– जमिनको पोषणका लागि हामीलाई जन्तुको आवश्यक छ।तर यो सोचलाई कार्यान्वन गर्न ‘हामी नेपालीमा अनुशासन र देशभक्ति चाहिन्छ।’ कुनै वाद त “यात्राको दिशानिर्देश गर्ने सिद्धान्त मात्र हो।’ देश र नागरिकको समृद्धिका लागि वाद चाहिने हो वादका लागि देश होइन। अतः अब हाम्रो युग ‘क्रान्तिको युग होइन, क्रान्ति भित्र क्रान्तिको युग हो। र, क्रान्ति भनेको हिंसा होइन, क्रान्ति त उन्नयन हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *