अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व

कास्की । पोखरामा आयोजना गरिएको तेस्रो संस्करणको अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’मा नेपाली खेलाडीले वर्चस्व कायम राखेका छन् ।

पोखरा महानगरपालिका–१३ आर्वाविजय डाँडामा यही कात्तिक २७ देखि सुरु प्रतियोगिताको शनिबार फाइनल खेल खेलाइएको थियो । प्रतियोगितामा नेपालसहित जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का ओमन र अमेरिका गरी आठ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छवटै ट्रेलमा खेलाइएको थियो ।

प्रतियोगिता छवटा ट्रेल कुल पाँच किमी तीन सय ६३ मिटर दूरीका साथमा छवटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । प्रतियोगितामा ३० देखि ३९ वर्षसम्मका मास्टर्स ‘ए’ विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल हुनुभयो । भण्डारीले निर्धारित दूरी १४ मिनेट पाँच सेकेण्डमा पार गरे । अष्ट्रेलियाका स्टेफन विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा दूरी पार गरी द्वितीय भए । नेपालका मुनेस घलेले १६ मिनेट २६ सेकेन्डमा पार गरी तृतीय भए ।

यता मास्टर्स ‘बी’तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल हुनुभयो । उहाँले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्डमा पार गर्न सफल भए  । त्यसैगरी, सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै द्वितीय र १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तृतीय भए ।

जुनियरतर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए  । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड, दिप्सनले १५ मिनेट ५० सेकेन्ड र स्वप्निलले १६ मिनेट ५८ सेकेण्डमा पूरा गरे ।

खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डङ्गोल दोस्रो हुन सफल भिन्न । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्डमा पार गर्दा कृपा डङ्गोलले २० मिनेट १५ सेकेन्डमा पूरा गरिन् ।

त्यसैगरी इलिटतर्फको विधामा भने हिकमत विक निर्धारित दूरी १३ मिनेट नौ सेकेन्डमा पार गरी प्रथम भए  । यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल विक तेस्रो हुन सफल भएका छन् । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड उक्त दूरी पार गरे भने अनिलले १४ मिनेट २९ सेकेन्डमा दौड सम्पन्न गरे ।

यसैगरी, ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए भए  । नेपालका मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा क्रमशः द्वितीय र तृतीय भए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

माउन्टेन वाइक कम्पनी डन टिल डस्कले प्रतियोगिता गरेको हो । यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । इन्डुरो प्रतियोगिताले विश्वभर ठूलो सङ्ख्यामा रहेका माउन्टेन बाइकप्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *