कर्णाली । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताएका छन् ।
फाइन प्रिन्टद्वारा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा नवराज केसीसँगको अन्तरङ्गमा महानायक उपनाम पाएका हमालले नायक नायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको बताए । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको बताए ।
मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने,’भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।’
आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।
डा केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीसँग अन्तसंवाद गरेका थिए ।
