काठमाडौं । कर्णाली यश्विसले लगातार दोस्रोपटक वात्साल्या एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार बेलुकी सम्पन्न रोमाञ्चक फाइनल खेलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले शुरुवाती दुई सेट जित्दै खेलमा उत्कृष्ट शुरुवात गरेको थियो । कर्णालीले पहिलो सेट २६-२४ र दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने ललितपुरले शानदार कम्ब्याक गर्दै खेलमा फर्किएको थियो । ललितपुरले तेस्रो सेट २५-१३ र चौथो सेट २५-१७ ले जित्दै खेल २-२ को बराबरीमा ल्याएको थियो ।
तर पाचौं तथा निर्णायक खेल १५-६ ले जित्दै कर्णालीले उपाधि जितेको हो । यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएर काठमाडौँमा सरेको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।
