महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

महोत्तरी । विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

यहाँको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट)लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइएकोमा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बिताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *