जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन् ।
शनिबार जनकपुरमा मधेसबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री भारतीय पक्षबाट आफूलाई सुरक्षा थ्रेट रहेको बताएका हुन् ।
उनले वीरगंजस्थित भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको आरोप लगाए । मधेसमा दलहरू फुटाउने र जुटाउने खालको धम्की दिने काम भारतीय पक्षले गरिरहेको उनले आरोप थियो ।
उनले भने, ‘वीरगंजस्थित भारतीय काउन्सिलर अफिसको प्रतिनिधिहरू सिधै आएर दलहरूसँग प्रत्यक्ष संवादमा रहेर दलहरूलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरु जुटाइदिन्छु भन्ने, नेताहरूलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको थ्रेट दिएको अवस्था छ।’
उनले सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भएपनि सुरक्षा थ्रेट रहेको बताए । उनले भने, ‘आर्मीको सुरक्षा मलाई छ। सशस्त्र प्रहरीको सुरक्षा मलाई छ। नेपाल प्रहरीको सुरक्षा मलाई छ, तर पनि मलाई सुरक्षा थ्रेट छ।’
