काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नाबारेमा गरिएका टीकाटिप्पणीको सम्मान गर्ने बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत खड्काले यस्तो बताएका हुन् । पार्टीको महाधिवेशनको मिति तोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला खड्काले यस्ता टिप्पणीहरु नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्तो सुकै टिप्पणीहरुलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणीहरु नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन् ।’
उनले हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भएपनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा, पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाम्रा बिगतका गल्ती–कमजोरी स्वीकारी नेपाली जनतासँग माफी मागेर बिगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरि पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ। साथीहरु सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ।’
कांग्रेसमा महाधिवेनको विषयलाई लिएर विवाद भइरहेको छ । संस्थापन पक्ष निर्वाचनपछि र इतर पक्ष निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । तर एक महिनादेखि जारी केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनकाबारेमा निर्णय गर्न सकेको छैन ।
