-नारायण गाउँले ।
‘धुर्मुस’का बारेमा लगातार समाचार र केही उदेकलाग्दा तस्बिर बाहिर आए । उनले हन्डर खाएको भिडियो पनि हेरियो । मन नै खिन्न भयो । मलाई त्यहाँ पुगेर आफैंले त्यो रङ्गशाला हेर्ने धोको थियो । गत महिना पूरा त भयो तर तिहारको समय अनि झमक्क साँझ पर्ने बेला पुगिएको हुनाले रङ्गशाला पूरै घुम्न, त्यहाँका स्थानीय र कृषि क्याम्पसका अध्यापकहरूसँग एकछिन गफ गर्ने रहर भने अधुरै रह्यो ।
कृषि क्याम्पस र अनुसन्धानका निम्ति छुट्याइएको जग्गा मासिन हुँदैन भन्ने मत सुरुदेखि नै राख्दै आएको थिएँ । एउटा व्यक्तिगत प्रयासमा त्यति ठूलो संरचना बीचैमा अलपत्र पर्ने डर ऊबेलै धेरैले देखाएका पनि थिए । त्यो जग्गा धाप थियो, डुबानमा पर्ने खालको थियो भन्ने कुरोले पनि मलाई कन्भिन्स गरेको थिएन । अनुसन्धानका लागि त्यस्तो जग्गा पनि चाहिन्छ । तर, कृषि क्याम्पस नै ताकेर धुर्मुसले यो योजनाको उद्घोष गरेका थिएनन् । उनको कलाकारिता र लोकप्रियता दुबै उचाइमा भएको बेला उनले त्यसबेला निकै लोकप्रियता कमाउँदै गरेको क्रिकेटका लागि केही गर्ने सोच बनाएका थिए । अलिकति हौसिए पनि होलान्, अलिकति देशप्रेम पनि हुने नै भयो । देशको कुनै एउटा ठूलो शहरमा यस्तो रङ्गशाला बनाउने योजना थियो । धेरै शहरले ठाउँको प्रस्ताव समेत गरेका थिए ।
चितवनले त्यही ठाउँ र आड़भरोसा दिएपछि उनी त्यहाँ आएका हुन् । जग्गा उनले रोजेको होइन । त्यसको जिम्मा उनको मात्रै होइन । उनले दिलोज्यान दिएर त्यो प्रोजेक्टमा काम गरेको देख्न सकिन्थ्यो । उनले सके जति गरे । देशविदेशका नेपालीलाई गुहार गरे, स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहार गरे । आश्वासन पनि पाए । चालीस करोड़भन्दा बढी त उनले रकम जम्मा गरेका रहेछन् । तर त्यो प्रोजेक्ट धेरै नै ठूलो भयो ।
सहयोग बोल्ने तर नदिने हाम्रो बानी छ । ठूलाले दिएनन्, अब बन्दैन भनेर सानाले पनि दिएनन् । प्रोजेक्ट रोकियो । उधारो आश्वासनको आड़मा उधारोमा सामान झारेर काम गर्नु नै उनका लागि समस्या बनेर आयो । नत्र त गर्दा गर्दै नसकेपछि जति बन्यो, त्यतिमैं हात उठाएर हिँड्न मिल्थ्यो । उधारोमा सामान दिनेले ताकेता गर्ने नै भए । ऋण भनेको त्यही उधारो रहेछ । टाउको दुखाइ पनि यही रहेछ ।
अन्ततः यो प्रोजेक्ट सरकारले नै बनाउने निर्णय भयो । आठ करोड़ जति त भरतपुर महानगरले पहिल्यै लगानी गरिसकेको रहेछ । समयमा त्यो प्रोजेक्टको प्राविधिक मूल्याङ्कन गरेर खर्च र कामको विवरण सार्वजनिक गर्न इन्जिनियर र अडिटर्सलाई एक हप्ता जति लाग्दो हो । तर वर्षौँ बित्दा पनि उनलाई झुलाइराख्ने काम भएको रहेछ । गल्ती भएको भए, हिनामिना भएको भए कारबाही गर, नत्र यो प्रोजेक्ट सकार गरेर त्यो उधारो तिरिदेऊ भन्ने उनको माग छ । यसबीच थुप्रै समिति पनि बनेछन् तर केही भएन । उनको करियरमात्रै दाउमा परेन, इज्जत र मानसिक स्वास्थ्य पनि सङ्कटमा पर्यो ।
देशमा अनेक स्कुल, कलेज, धर्मशाला, अस्पताल र सामयुदायिक भवन यस्तै जनसहयोगमा सम्पन्न भएका छन् । रङ्गशाला नयाँ होला तर यसरी बन्नै नहुने संरचना होइन । मुख्य कुरा कम्तिमा उनको सपनालाई प्रसंशा गर्न सक्नुभएन भने पनि धुर्मुसको नियत खराब भएको पुष्टि गर्ने आधार छैन । ठाउँमा पुग्नुभयो भने धेरै काम भएको त्यसै थाहा हुन्छ ।
एउटा कलाकार र उसको मानसिक स्वास्थ्य हाम्रो सार्वजनिक चासो र दायित्व पनि हो । जजसले उधारोका लागि पछ्याइरहनुभएको छ, उहाँहरूले पनि अलिकति थप धैर्य देखाउन सके हुन्थ्यो । आफ्नै प्राविधिक अप्ठेरा र सीमा होलान्, तर सरकारले पनि तदारुकताका साथ जे गर्न सकिने र मिल्ने हो त्यो गरिदिए हुन्थ्यो । राज्यले नागरिकलाई त्यो स्तरको दुःख दिनु जायज होइन । छिटै यो समस्याको निकास निस्कियोस्, धुर्मुसलाई उनको मुख्य क्षेत्र कलाकारितामा भेट्न पाइयोस् र देशका अन्तर्राष्ट्रिय क्रिकेट खेलहरू भरतपुरमा देख्न पाइयोस् ।
