साराजेभो । बोस्नियाको टुज्ला सहरस्थित एक वृद्धाश्रममा नोभेम्बर ४ मा भएको विनाशकारी आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १५ मा पुगेको छ । टुज्ला विश्वविद्यालय क्लिनिकल केन्द्रले शुक्रबार थप दुई घाइतेको मृत्यु भएको पुष्टि गरेपछि मृतक सङ्ख्या बढेको हो ।
आगलागी वृद्धाश्रमको सातौँ तल्लाबाट सुरु भएको थियो, जहाँ अधिकांश बसोबास गर्नेहरू बिरामी र ओछ्यानमै रहेका वृद्धवृद्धा थिए। घटनाको राति नै ११ जनाको मृत्यु भएको थियो, जस मध्ये धेरैजसोको मृत्यु धुवाँसेवनका कारण भएको प्रारम्भिक पोस्टमार्टमले देखाएको छ । अन्य घाइतेहरु उपचारका क्रममा अस्पतालमै निधन भए ।
अहिलेसम्म पाँच जना घाइते उपचाररत छन्, जस मध्ये दुई जनाको अवस्था गम्भीर छ । अभियोजन पक्षका अनुसार आगलागीको कारण एउटा कोठामा रहेको रेडियोमा जडान गरिएको बिग्रिएको विद्युत केबल भएको विज्ञहरूले पुष्टि गरेका छन् ।
घटनामा प्रहरी, दमकलकर्मी सहित ३० भन्दा बढी व्यक्ति समेत घाइते भएका थिए ।
