गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गरे ।

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्दै उनले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गरे ।

उनले भने, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी सङ्गठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउण्टर, सिसीटिभी प्रणाली, आपतकालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *