कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफँै फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो । कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन् ।

विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन् । कास्कीबाट भागेका मध्येमा १९ जना अन्य जिल्लामा समातिएका थिए । त्यसैगरी अन्य जिल्लाबाट भागेका सात जना कास्कीमा पक्राउ परेको जनाइएको छ । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए ।

उनले भने, “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेका मध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ ।” फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी रहेका छन् ।

आजीवन कारावासको सजाय तोकिएका दुई जनामध्ये एक जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो । तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजविन गरिरहेको छ ।

कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुनअनुसार कारबाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *