निर्वाचनअघि नै महाधिवेशन गर्न माग गर्दै कांग्रेसका २५ केन्द्रीय सदस्यको ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

शुक्रबार कांग्रेसका २५ जना केन्द्रीय सदस्यले निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्। कांग्रेसको नियमित महाधिवेशन गर्ने कि विशेष भन्ने विवाद चलिरहेको छ ।

ध्यानाकर्षणपत्रमा उनीहरुले सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने ।’

त्यसैगरी उनीहरुले महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *