काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु नहुने बताएका छन् ।
उर्जासहित तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङतर्फ इङ्गित गर्दै महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल मार्फत उनलाई बिदा गर्न माग गरेका हुन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?!’
ऊर्जामन्त्री घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । तर उनी पार्टीको कुनै पदमा छैनन् ।
