बीबीसीद्वारा ट्रम्पसँग क्षमायाचना, क्षतिपूर्ति दिन अस्वीकार

बीबीसी । अमेरिकी संसद् भवनमाथि आक्रमण भएको दिन डोनल्ड ट्रम्पले गरेको भाषण सही ढङ्गले सम्पादन नगरी गतवर्ष एउटा टेलिभिजन कार्यक्रममा प्रसारण गरिएकोप्रति बीबीसीले औपचारिक रूपमा क्षमायाचना गरेको छ ।

तर क्षतिपूर्ति दिनुपर्ने राष्ट्रपति ट्रम्पको माग भने उसले अस्वीकार गरेको छ । ‘ट्रम्पले हिंसात्मक गतिविधिका लागि सीधै आह्वान गरेका थिए भनेर भिडिओ सम्पादनका कारण गलत धारणा बनेको’ बीबीसीले बताएको छ। सन् २०२४ को कार्यक्रम फेरि प्रसारण नगर्ने पनि उसले उल्लेख गरेको छ ।

बीबीसीका अध्यक्ष समीर शाहले पनि क्षमायाचना गर्दै एउटा छुट्टै पत्र पठाएका छन्। प्रतिक्रियाका लागि बीबीसीले ह्वाइटहाउसलाई सम्पर्क गरेको छ । बीबीसीले आफ्नो बयान फिर्ता नलिएसम्म, क्षमायाचना नगरेससम्म र क्षतिपूर्ति नदिएसम्म एक अर्ब डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्ने ट्रम्पका वकिलहरूले चेतावनी दिँदै आएका छन् ।

बीबीसीको ‘प्यानोरमा’ले उत्पादन गरेको एउटा वृत्तचित्रमा भ्रम सिर्जना हुने गरी डोनल्ड ट्रम्पको भाषण काटछाँट गरिएको भन्दै आलोचना भएको थियो । सोही प्रकरणलाई लिएर बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतबार पदबाट राजीनामा दिइसकेका छन् ।

सन् २०२२ मा ’न्यूजनाइट’ कार्यक्रममा सोही प्रकृतिले सम्पादन गरिएको क्लिप प्रसारण भएको भनी द डेली टेलिग्राफ पत्रिकाले प्रकाशमा ल्याएको केही घण्टापछि बीबीसीको क्षमायाचना आएको हो । बिहीबार प्रकाशित ‘करेक्शन्स एन्ड क्लारिफेकेशन्स’ सेक्शनमा बीबीसीले ट्रम्पको भाषणको सम्पादनको आलोचनापछि प्यानोरमा कार्यक्रमको समीक्षा गरिएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *