आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छः म्याक्रोँ

पेरिस । रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् ।

अन्तरिक्षमा सैन्य गतिविधिमा अर्बौं युरो खर्च बढाउने घोषणा गर्दै भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ ।” म्याक्रोँले भने, “अन्तरिक्ष अब अभयारण्य होइन, यो युद्धको मैदान बनेको छ ।”

रुसले सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको छ।
“रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेका थिए, त्यहाँ जीपीएस सिग्नलहरू सामूहिक जाम भएका थिए र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको थियो,” उनले भने ।

म्याक्रोँले अन्तरिक्षमा आणविक हतियारको रुसी धम्कीलाई पनि औंल्याउँदै भने, “अन्तरिक्षमा आणविक हतियारको प्रभाव सम्पूर्ण विश्वका लागि विनाशकारी हुनेछ।”

म्याक्रोँले सन् २०३० सम्म सैन्य अन्तरिक्ष गतिविधिका लागि थप ४.२ अर्ब युरो (४.९ अर्ब डलर) को कोष घोषणा गरेका छन् ।

फ्रान्सको अन्तरिक्ष रणनीतिका लागि उल्लिखित प्राथमिकताहरूमा ‘भविष्यका प्रक्षेपकहरू विकास गर्ने’ र पुनः प्रयोग गर्न योग्य, कम लागतको प्रणोदन र उच्च–थ्रस्ट इन्जिनहरू रहेका छन्।

स्पेस एक्सको नेतृत्व गरिरहेका अमेरिकी अर्बपति एलन मस्क र जेफ बेजोसको ब्लू ओरिजिनको महत्वाकाङ्क्षी कार्यक्रमलाई सङ्केत गर्दै म्याक्रोँले भने, “प्रमुख तेस्रो पक्ष शक्ति वा कुनै पनि ‘स्पेस म्याग्नेट’ मा निर्भर हुने प्रश्नै छैन।”

उनले भने, “हामी तयार होऔंः यो जमिनमा, हावा र समुद्रमा सैन्य अभियानको सफलताको लागि एक शर्त हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *