एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल पराजित भएको छ । फिफा विश्वकपको युरोपेली छनोट अन्तर्गत भएको खेलमा पोर्चुगल आयरल्यान्डसँग २-० गोलले पराजित भएको हो ।
घरेलु मैदान अभिभा स्टेडियममा भएको खेलमा आयरल्याण्डलाई जित दिलाउन ट्रोए प्यारोटले दुई गोल गरे । खेलको १७ औँ मिनेटमा प्यारोटले गोल गर्दै घरेलु टोलीलाई शुरूवाती अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा प्यारोटले व्यक्तिगत दोस्रो गोल गर्दै आयरल्याण्डको अग्रता दोब्बर बनाए ।
५९ औँ मिनेटमा रोनाल्डो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आयरल्याण्ड २-० गोलले विजयी भएको हो ।
जितसँगै आयरल्याण्डले विश्वकपमा छनोट हुने सम्भावनालाई जीवित राख्दा पोर्चुगलले विश्वकपमा छनोट हुन अर्को खेलसम्म पर्खिनुपर्ने भएको छ । हाल पोर्चुगल ५ खेलबाट १० अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ७ अंक जोडेको आयरल्याण्ड तेस्रो स्थानमा यथावत रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा युक्रेनलाई ४-० गोलले हराउँदै फ्रान्सले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई तथा मिचेल ओलिसे र हुगो एकिटिकेले समान एक/एक गोल गरे ।
जितसँगै फ्रान्स ५ खेलबाट १३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ७ अंक जोडेको युक्रेन तेस्रो स्थानमा रहेको छ ।
