खुलामञ्चमा अब ‘मर्निङ वाक’ गर्न पाइने

-बालेन साह ।

प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो । खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ ।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ ।
पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् ।

खुल्ला मञ्च सबैका लागि खुल्ला रहने, बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।

चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेलखेल्न सकिन्छ ।

पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । यसपछि अर्थात् ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ ।

यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् । ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो ।

खुल्ला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।

’काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुल्ला मञ्च प्रयोग भएको थियो । मञ्च र रत्नपार्कको बिच खण्डमा कालो पत्र गरेर बसपार्क सञ्चालन भएको थियो ।
२०७२ सालको भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कूल पुनःनिर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो । यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकहरुका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *